
‘भाउजुले बारम्बार हेला गर्थिन्, अपमान सहन नसकेर हत्या गरेँ’
कैलाली– कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान घर नजिकै नालामा मृत अवस्थामा फेला परेकी १९ वर्षीया सुत्केरी महिला तुलसी नाथको हत्या उनकै सहोदर देवर नवीन नाथले गरेको खुलासा भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुरुमा मृत्युको कारण अस्पष्ट भए पनि, गहना हराएको तथ्यबाट हत्या आशंका पुष्टि हुन थालेको थियो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, पक्राउ परेका नवीनले आफूमाथि बारम्बार अपमान भएको भन्दै आवेगमा आएकाले हत्या गरेको बयान दिएका छन्। उनले भाउजुले आफूलाई “काम नलाग्ने, घरमै बस्ने, केही नगर्ने” भनेर बारम्बार गाली गर्ने गरेकीले मनमा दह्रो चोट परेको बताएका छन्।
“भाउजुले मलाई बाबु, कामै नलाग्ने भए भनेर आफन्तहरूसँग समेत भन्ने गर्नुहुन्थ्यो,” नवीनले बयानमा भनेका छन्, “त्यो कुराले मलाई धेरै अपमानित महसुस हुन्थ्यो। त्यो दिन पनि खाना पुगेन भनेर भाउजुले गाली गर्नुभयो, त्यसपछि रिस थाम्न सकिनँ।”
प्रहरी अनुसन्धान अनुसार, घटना भएको साँझ तुलसी र नवीनबीच सामान्य भनाभन भएको थियो। राति करिब १ बजे सुतेको कोठाबाट उठेर नवीन भाउजुको कोठामा पसेर सुतिरहेको अवस्थामा सिरानीले मुख च्यापेर हत्या गरेका हुन्। “म सुतेको कोठाबाट उठेर गएँ, भाउजु सुतिरहनु भएको थियो। त्यही मौका छोपी सिरानीले मुख च्यापेर मारें,” नवीनको भनाइ छ।
हत्या पछि उनले शव काखमा बोकेर घरनजिकैको नालामा लगेर फालेको बताएका छन्। “शव नालामा फालेपछि कानका गहना झिकें र घरनजिकै ढुंगामुनि लुकाएँ,” नवीनले बयानमा बताएका छन्।
उनले घटनापछि भाग्ने विचार गरेनन्। “पानी मुनि गएका पनि प्रहरीले छाड्दैन भन्ने थाहा थियो, त्यसैले घरमै बसेँ,” नवीनले भनेका छन्।
प्रहरीका अनुसार घटना हुँदा घरमा अन्य सदस्यहरू थिएनन्। मृतकका श्रीमान् भारतमा रोजगारीमा छन् भने सासू–ससुरा गाउँ गएका थिए। १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको छ।
डीएसपी चन्दका अनुसार, आरोपीको बयानका आधारमा सुनका गहना समेत बरामद गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
