
समन्वयविना भारतीय प्रहरी काठमाडौंमा, होटलबाट नेपाली उठाउन खोज्दा विवाद
काठमाडौं- भारतकाे हैदरावाद प्रहरीका डिएसपी हरिशको नेतृत्वमा भारतीय प्रहरीको तीन सदस्यीय टोली बिना पूर्वसूचना स्थलमार्ग हुँदै काठमाडौँ प्रवेश गरेको खुलासा भएको छ। हैदरावादमा भएको तीन करोड रुपैयाँ बराबरको चोरीमा संलग्न एक नेपाली नागरिकलाई पक्राउ गर्नु उनीहरूको लक्ष्य थियो।
नेपाल सरकार वा प्रहरीसँग कुनै समन्वय नगरी काठमाडौं आइपुगेको टोलीले ती नेपाली युवकलाई एक होटलबाट जबर्जस्ती पक्रन खोज्दा विवाद उत्पन्न भएको थियो। घटनाको जानकारी पाउनेबित्तिकै स्थानीयले प्रहरीको टोल-फ्री नम्बर १०० मा खबर गरेपछि नेपाल प्रहरी तत्काल सक्रिय भयो।
स्वयम्भू इलाकाबाट गाडीसहित नियन्त्रणमा लिइएका ती व्यक्तिहरूले आफैँलाई हैदरावाद प्रहरी भएको बताएपछि सो विषय प्रहरी मुख्यालयमा जानकारी गराइयो। कूटनीतिक माध्यमबाट बुझ्दा उनीहरू साँच्चिकै भारतीय प्रहरी भएको पुष्टि भएपछि भारतीय दूतावासमार्फत समन्वय गरियो।
नेपाल र भारतबीच विद्यमान सुपुर्दगी सन्धिअनुसार, आपसी समन्वयमा अपराधीहरूलाई हस्तान्तरण गर्ने व्यवस्था भए पनि यसपटक भारतीय प्रहरी बिना अनुमति नेपाली भूमिमा छिरेर कारबाही गर्न खोजेपछि विवाद उत्पन्न भएको हो।
स्रोतका अनुसार, पक्राउ गरिएका नेपाली युवकलाई सामान्य सोधपुछपछि रिहा गरिएको छ। घटनालाई सुरुवातमा गोप्य राख्ने प्रयास गरिएको भए पनि पछिल्लो समय सार्वजनिक भएको हो।



कागजपत्र |
