
रास्वपा–राप्रपाको संसद् अवरोध कायमै, गृहमन्त्रीमाथि छानबिन माग
काठमाडौं- प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगातार अवरोध जारी राखेका छन्। आजको बैठक पनि ती दुई दलका सांसदहरूले नाराबाजीसहित वेल घेरेर अवरुद्ध गरेका हुन्।
बैठक सुरु भएलगत्तै रास्वपाका सांसद हरि ढकाल र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आ–आफ्नो धारणा राख्दै अवरोध कायमै रहने जनाए। ढकालले सरकारको वेवास्ता र गृहमन्त्री रमेश लेखकको जवाफप्रति कटाक्ष गर्दै आन्दोलन झनै सशक्त बनाइने चेतावनी दिए।
रास्वपाले भिजिट भिसाको नाममा लाखौं युवालाई ठगिएको भन्दै गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सांसद ढकालका अनुसार भिजिट भिसाका नाममा भइरहेको अवैध धन्दाबारे आवाज उठाउँदा सरकार गम्भीर नभएको भन्दै आन्दोलन जारी राखिएको हो।
गत जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संयुक्त रूपमा संसद अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलहरूले माग पूरा नभएसम्म संसद् चल्न नदिने अडान दोहोर्याएका छन्। राप्रपाका प्रमुख सचेतक शाहीले संसद् बैठक बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्।
अवरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारवाही अघि बढाए पनि विपक्षीको नाराबाजी रोकिएको छैन।



कागजपत्र |
