महाराजगन्जदेखि ठमेलसम्म: प्रेमजालमा फसे युवक, नग्न भिडियो बनाएर मागियाे ७० लाख


काठमाडौं- सामाजिक सञ्जालले मानिसहरूलाई जति नजिक ल्याइरहेको छ, अपराधीहरूलाई पनि उति नै सजिलो शिकार बनाउने ठाउँ बनाइरहेको छ। राजधानीमा हालै सार्वजनिक भएको एक घटनाले प्रविधिमार्फत योजनाबद्ध रूपमा कसरी व्यक्तिलाई जालमा फसाइन्छ र करोडौँको फिरौती असुलिन्छ भन्ने भयावह यथार्थ उजागर गरेको छ।

‘साइबर ट्र्याप’ भनेर चिनिन थालिएको यस्ता घटनामा युवतीहरू प्रयोग गरेर उच्चस्तरीय ब्ल्याकमेलिङ अभियान चलाइन्छ। काठमाडौँका राज चौलागाईं (नाम परिवर्तन) त्यसैको शिकार बने।

घटनाको प्रारम्भ भयो महाराजगन्जस्थित बगर हाउसबाट, जहाँ ‘आँचल चौगुठी’ नामक फेसबुक आईडीबाट पठाइएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि राज ती युवतीसँग प्रत्यक्ष भेट गर्न पुगे। त्यही भेटमा आँचलसँगै ममता तामाङ पनि उपस्थित थिइन्।

त्यस भेटपछि, २०८१ चैत २६ गते ठमेलको होलिडे रिजेन्सी होटेलमा तीनै जना फेरि भेटिए। त्यहाँ खाजा र मादक पदार्थसँगै बसेको क्षणले राजको जीवनमा नयाँ मोड ल्यायो। उनी अचेत भएको बेला युवतीहरूले उनका आपत्तिजनक तस्वीर र भिडिओहरू खिचेका थिए।

यही ‘सबूत’ प्रयोग गर्दै केही सातापछि अनामनगरस्थित टिम्बुर रेस्टुरेन्टमा उनीहरू पुनः भेला भए। राजमाथि दबाब दिँदै आँचल, ममता, र उनीहरूका सहयोगी दीपक विष्ट तथा राजेन्द्र विष्टले ‘केस मिलाउन’ भन्दै ७० लाख रुपैयाँको माग गरे। तत्कालै पाँच लाख रुपैयाँको चेक दिइए पनि बाँकी रकमका लागि निरन्तर धम्की दिइयो।

राजले अन्ततः ७ जेठ २०८२ मा प्रहरीको सहायता मागे। अनुसन्धान सुरु गरेपछि सोही दिन आँचल चौगुठी र ममता तामाङ पक्राउ परे। उनीहरूको साथबाट पाँच लाखको चेक, मोबाइल फोन र अन्य प्रमाणहरू बरामद गरिए।

पक्राउ परेका दुई महिलाले राजेन्द्र विष्टको निर्देशनमा योजनाबद्ध रूपमा नग्न भिडिओ बनाइएको स्वीकारेका छन्। उनीहरू काठमाडौँ–५ का भाडाको डेरामा बस्दै आएका थिए भने फरार अभियुक्तहरू कञ्चनपुरका स्थायी बासिन्दा हुन्।

काठमाडौं जिल्ला अदालतमा ‘आपराधिक लाभ’ अन्तर्गत मुद्दा दायर भइसकेको छ भने फरार अभियुक्तहरूका लागि पक्राउ पुर्जी जारी गरिएको छ।

सामाजिक सञ्जालको नाममा ठगी र चरित्र हत्या गर्ने यस्तो आपराधिक प्रवृत्तिको मूख्य केन्द्र राजधानीकै सुरक्षितजस्तो देखिने क्षेत्रहरू भएको प्रहरीको निष्कर्ष छ।

 

प्रतिक्रिया