पत्रकार दिलभूषण पाठकले पक्राउ पुर्जी कार्यान्वयन रोक्न उच्च अदालत गुहारे


काठमाडौं- पत्रकार दिलभूषण पाठकले आफ्नो नाममा जारी भएको पक्राउ पुर्जी कार्यान्वयनमा रोक लगाउन उच्च अदालत पाटनमा निषेधाज्ञा माग गर्दै निवेदन दिएका छन्।

पाठकले जिल्ला अदालत काठमाडौंबाट जारी भएको पक्राउ पुर्जीविरुद्ध सोमबार निवेदन दर्ता गराएका हुन्। उच्च अदालत पाटनका अनुसार उक्त निवेदन न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ। निवेदन इजलासको १२औं नम्बरमा रहेको छ।

पाठकले आफ्नो युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री प्रसारण गरेका थिए। त्यसपछि जयवीरले आफूविरुद्ध कपोकल्पित र निराधार सामग्री निर्माण गरी प्रचार गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।

यस घटनाप्रति सञ्चार क्षेत्रका विभिन्न संस्था तथा संघ–संस्थाले आपत्ति जनाउँदै पत्रकार पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गरेका छन्। तिनीहरूले पत्रकारिता स्वतन्त्रताको रक्षा गरिनुपर्ने मागसमेत गरेका छन्।

प्रतिक्रिया