टिकटकमार्फत चरित्र हत्या गरेकाे आरोपमा रमा बस्नेत पक्राउ


काठमाडौं- सामाजिक सञ्जाल टिकटक प्रयोग गरी प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि तथ्यहीन आरोप लगाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार भक्तपुरबाट पक्राउ गरेको हो।

ब्युरोका अनुसार बस्नेतले टिकटकमा निरन्तर जातीय र साम्प्रदायिक भावना भड्काउने सामग्रीहरू पोस्ट गर्दै आएकी थिइन्। साथै उनले विभिन्न प्रतिष्ठित व्यक्तित्व र संस्थाहरूमाथि आधारहीन र भ्रामक विषयवस्तु पस्केर समाजमा नकारात्मक धारणा फैलाउने काम गरिरहेकी थिइन्।

भ्रामक तथा द्वेषपूर्ण सामग्रीबारे उजुरी परेपछि ब्युरोले प्रविधि माध्यमबाट अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा बस्नेतको संलग्नता पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

उनको टिकटक एकाउन्टमा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं उपमेयर सुनिता डंगोलविरुद्ध तथा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहको पक्षमा बनाइएका सामग्रीहरू देखिएको ब्युरोको भनाइ छ।

प्रतिक्रिया