बन्दुकधारीको आक्रमणबाट इथियोपियामा ३० जनाको हत्या


ओरोमिया – इथियोपियामा बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । इथियोपियाको दक्षिणी क्षेत्रमा रहेको ओरोमिया गाउँमा बन्दुकधारीले जथाभावी आक्रमण गर्दा अन्य कयौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इथियोपियामा बढ्दो जातिय हिंसामा परेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बन्दुकधारीले स्थानीय समयअनुसार बिहान नौ बजे गाउँमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उध्रृत गर्दै अलजजिराले जनाएको छ ।

सरकारी सुरक्षाकर्मीको उपस्थिति नभएको स्थानमा गाउँलेलाई भेला पारेर सामुहिक रुपमा गोली हानी हत्या गरिएको समाचारमा उल्लेख छ । तर उक्त घटनामा आफ्नो संलग्ना नरहेको सो समूहले प्रतिक्रिया दिएको छ । इथियोपियामा हिंसात्मक गतिविधिमा संलग्न ओरोमो र अमहारा सबैभन्दा सक्रिय जातीय संगठन हुन् ।

सीमा क्षेत्रमा आफ्ना गतिविधि सक्रिय पारेका ती समूहले सोही क्षेत्रमा हिंसात्मक गतिविधि केन्द्रीय गरेका छन् । गत मार्चमा ओरोमो समूहले ३ सय भन्दा बढी महिला तथा बालबालिकाको हत्या गरेको थियो । हिंसात्मक गतिविधिहरु बढ्दै गएपनि समस्या समाधानका लागि पहल नगरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले त्यहाँको सरकारको आलोचना गरेका छन् ।

इथियोपिया अफ्रिकाको अधिक जनसंख्या भएको दोस्रो ठूलो देश हो । इथियोपियामा पछिल्लो समय भूमि, शक्ति र स्रोतसाधान नियन्त्रण गर्न जातीय प्रतिष्पर्धा भइरहेको छ । एजेन्सी

प्रतिक्रिया