


मुद्दा दर्ता भएपछि माधव नेपालसहित एकीकृत समाजवादी आकस्मिक बैठकमा

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टी आकस्मिक बैठकमा जुटेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बसेको हो।
पतञ्जलि योगपीठको हदबन्दी छुट पाएको जग्गा बिक्रीमा संलग्न रहेको आरोपमा अख्तियारले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले करिब १८ करोड ५८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचारको मागदाबी गर्दै बिहीबार मुद्दा दर्ता गरेको थियो।
मुद्दा दर्ता भएसँगै रौतहटमा पार्टी कार्यक्रमका लागि रहेका नेपाल काठमाडौं फर्किएका थिए। काठमाडौं आएपछि उनले कानुन व्यवसायीसँग परामर्श गरेपछि पार्टी नेतृत्वसँग छलफलका लागि बैठक बोलाएका हुन्।
आकस्मिक बैठकमा पार्टीका शीर्ष नेताहरू सहभागी भएर तत्कालीन राजनीतिक भूमिका र कानुनी पक्षबारे रणनीति तय गर्ने प्रयास भइरहेको बताइएको छ। आयोगले यसअघि अध्यक्ष नेपालसँग बयान पनि लिएको थियो।
पतञ्जलि योगपीठको लागि हदबन्दी माफी दिँदै सरकारी जग्गा बिक्री गर्न दिने तत्कालीन मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा अध्यक्ष नेपालको भूमिका रहेको अभियोग अख्तियारले लगाएको छ।

