राणा र मिश्र सम्पर्कविहीन, जमानी बसेका वकिललाई जरिवाना


काठमाडौं-  ‘तीनकुने घटना’ का मुख्य अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा अनुसन्धान पूरा नहुँदै हाजिरी जमानीमा रिहा भएका थिए। तर, अदालती प्रक्रिया अघि बढ्दासमेत उनीहरू सम्पर्कमा नआएपछि प्रहरीको जिम्मामा जमानी बसेका अधिवक्ताहरूलाई जरिवाना गरिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मिश्र र राणाको जिम्मा लिएका अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्टलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।

गत चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो। प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए। सोही घटनाका कारण उनीहरुविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध लगायतको कसूरमा मुद्दा दायर गरिएको छ।

राणा स्वास्थ्य उपचारका लागि भारत जानुपर्ने कारण देखाउँदै २०७४ को मुलुकी फौजदारी कार्यविधि संहिता अन्तर्गत उमेश सिंह विष्टको जिम्मामा जेठ १ गते रिहा भएका थिए। त्यस्तै मिश्र भने सर्वोच्च अदालतको आदेशमा अधिवक्ता शाही र ब्लोनको जिम्मामा जेठ २ गते रिहा भएका थिए।

तर, अनुसन्धान अधिकृतको पटक–पटकको सूचना, फोन र पत्राचारका बाबजुद अदालतमा उनीहरू नपुगेपछि जिम्मेवारी वहन नगरेको भन्दै जमानी दिने अधिवक्तामाथि जरिवाना गरिएको हो।

 

 

प्रतिक्रिया