काफ्लेको संयोजकत्वमा निलम्बित नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन समिति गठन


काठमाडौं — काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन् ।

‘राजु पाण्डेमाथि छानबिन गरी सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो,’  महानगरका एक उच्च अधिकारीले भने ।

काफ्ले महानगरका सहायक प्रवक्ता पनि हुन् । उनले समितिबारे अनौपचारिक जानकारी पाए पनि अहिलेसम्म चिठी नपाएको बताए ।

‘समिति बन्यो भन्ने सुनेको छु । तर, म कहाँ चिठी आइपुगेको छैन । अन्य सदस्यको नामसहित चिठी आउला,’ काफ्लेले भने ।

महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा ४ बमोजिम जाँचबुझ समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत निकट स्रोत बताउँछ ।

०८१ चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेपछि नगरप्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै उनलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।

प्रतिक्रिया