
दमन, हत्या र दुरुपयोगको आरोपमा शेख हसिनाविरुद्ध सुनुवाइ आजबाट
ढाका — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराध अन्तर्गतको मुद्दामा आइतबारदेखि औपचारिक सुनुवाइ सुरु हुने भएको छ। सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको जनविद्रोह दबाउन राज्यस्रोतको दुरुपयोग, प्रहरीद्वारा गरिएको दमन र प्रदर्शनकारीको हत्यामा संलग्न रहेको आरोप हसिनामाथि लागेको छ।
गत वर्ष आन्दोलन उत्कर्षमा पुगेपछि ७७ वर्षीया हसिना हेलिकप्टरमार्फत भारत गएकी थिइन्। अहिले उनी भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन्। ढाकास्थित घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले उनको अनुपस्थितिमै मुद्दा अघि बढाउने तयारी गरिरहेको छ।
आईसीटीका प्रमुख अभियोजक ताजुल इस्लामले हसिनामाथि ‘दुरुत्साहन, उक्साहट, संलग्नता, सूत्रधार हुनु’ र ‘सामूहिक हत्या रोक्न असफल भएको’ जस्ता पाँचवटा गम्भीर आरोप लगाइएको जानकारी दिए। अनुसन्धानकर्ताहरूले भिडियो फुटेज, अडियो रेकर्ड, फोन वार्तालाप, हेलिकप्टर र ड्रोन गतिविधिको डेटा तथा पीडितको बयानलाई प्रमाणका रूपमा अदालतमा पेश गरेका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलन दमनको क्रममा १,४०० जनाको मृत्यु भएको थियो। यस मुद्दामा तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाल, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुनसहित पूर्व वरिष्ठ अधिकारीहरू पनि मुछिएका छन्। तीमध्ये केही विरुद्ध पहिले नै सुनुवाइ सुरु भइसकेको छ।
शेख हसिनाले सन् २००९ मा आईसीटी गठन गरी १९७१ को युद्ध अपराधको अनुसन्धान थालेकी थिइन्। तर, सोही न्याय प्रणालीमार्फत आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्ष्य बनाएको आरोप लाग्दै आएको छ। अहिले यही न्यायाधिकरणमा उनी स्वयं दोषीको रूपमा प्रस्तुत हुँदैछिन्।
बंगलादेशको अन्तरिम सरकारले सन् २०२६ को जुनअघि निर्वाचन गर्ने प्रतिबद्धता जनाएको छ। प्रमुख विपक्षी दलहरूले हसिनाविरुद्ध कानुनी कारबाहीलाई राजनीतिक जवाफदेहिताको मुख्य परीक्षणका रूपमा हेरेका छन्। सरकारी स्वामित्वको बंगलादेश टेलिभिजनमार्फत मुद्दाको प्रत्यक्ष प्रसारण हुने अपेक्षा गरिएको छ।



कागजपत्र |
