राजावादी प्रदर्शनप्रति सरकार सतर्क, गृहले डाक्यो सुरक्षा समिति बैठक


काठमाडौं — जेठ १५ गते काठमाडौंमा राजावादी समूहले आह्वान गरेको प्रदर्शनलाई लिएर सरकारले सुरक्षा सतर्कता बढाएको छ। अघिल्लोपटकको अराजक प्रदर्शनबाट सिक्दै गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय दुवै सुरक्षा तयारीमा सक्रिय भएका छन्।

गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाक्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई छलफलमा बोलाएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा राजावादी प्रदर्शनलाई ‘संवेदनशील’ मानेर सुरक्षा संयन्त्रलाई चुस्त बनाउन निर्देशन दिने तयारी गरिएको छ। गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा सुरक्षाकर्मीको कमजोरी देखिएको भन्दै तीव्र आलोचना भएको थियो।

सोमबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सिंहदरबारमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए। स्रोतका अनुसार सरकारले अबको प्रदर्शनमा कुनै पनि अराजकता हुन नदिने नीति अख्तियार गरेको छ।

प्रतिक्रिया