नगर प्रहरी प्रमुख पाण्डेले स्पष्टीकरण बुझाए, मेयरको आदेश अनुसार काम गरेको जिकिर


काठमाडौं — काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष आफ्नो स्पष्टीकरण बुझाएका छन्।

गुरागाईंले अनुशासनहीन व्यवहार देखाएको भन्दै पाण्डेलाई जेठ ६ गते सात बुँदे स्पष्टीकरण सोधेका थिए। पाण्डेले बुझाएको स्पष्टीकरणमा ६ बुँदामा आफूले मेयरको आदेश अनुसार कार्य गरेको र बाँकी एक बुँदामा गाडीको सुरक्षाका लागि ह्विललक लगाएको उल्लेख गरिएको स्रोतले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि पाण्डेबाट स्पष्टीकरण प्राप्त भएको पुष्टि गरेका छन्। “स्पष्टीकरणमा उहाँले कानुनबमोजिम काम गरेको उल्लेख गर्नुभएको छ,” गुरागाईंले भने, “अब विस्तृत रूपमा अध्ययन गरी कानुन व्यवसायीसँग सल्लाह गरेर मात्र थप निर्णय लिनेछौं।”

गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरी टोलीले उनलाई रोक्ने प्रयास गरेको थियो। सोही घटनाका आधारमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। सो दिन उपमेयर सुनिता डंगोलले पनि पाण्डेसँग जवाफ माग्दा उनले मेयरको मौखिक आदेशअनुसार काम गरेको जवाफ दिएका थिए।

 

प्रतिक्रिया