कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी


काठमाडौं- वैदेशिक रोजगार विभागले कानून विपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारीमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवम् आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि नागरिकलाई आग्रहसमेत गरेको छ ।

व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरूले विदेश पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात सङ्कलन गर्ने, नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको जनगुनासो प्राप्त भएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन २०६४ बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानूनी प्रावधान छ ।

विभागले तालिम प्रदायक संस्थाहरूलाई वैदेशिक रोजगारमा जाने कामदारका लागि मापदण्ड पूरा गरी तालिम सञ्चालन गर्न सुसूचित गराएको छ ।

अभिमूखीकरण तालिम सञ्चालन गर्दा सबै प्रशिक्षार्थीलाई अनिवार्य उपस्थित र तालिमका लागि आवश्यक न्यूनतम भौतिक एवम् अन्य स्रोतसाधनसम्बन्धी मापदण्ड पूरा नगर्ने संस्थालाई कारबाही गर्ने विभागले चेतावनी दिएको हो ।

मापदण्ड पूरा नगरी तालिम सञ्चालन भइरहँदा वैदेशिक रोजगारीमा जाने कामदारले पर्याप्त मात्रामा सुसूचित हुन नसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया