

कुलिङ पिरियडको प्रावधानबाट पछि हट्दैनौँ : रामहरि खतिवडा

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन्।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र विज्ञहरूसँगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पारेका हुन्।
निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको भन्दै उनले यस्तो प्रावधान अन्य देशमा समेत रहेको उल्लेख गरे।
कुलिङ पिरियडको प्रावधानलाई कर्मचारीमाथिको अविश्वास भन्न नमिल्ने उनले बताए।
सभापति खतिवडाले कुलिङ पिरियडको विषयमा मुख्यसचिव लगायतका सचिवहरूको चासो अस्वाभाविक रहेको जिकिर गरे।
समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको उनले बताए। उनले समितिले पारित गरेको विधेयकलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको जिकिर गरे।

