कहिल्यै झगडा नगर्ने पति–पत्नीलाई ‘उत्कृष्ट ढुकुर जोडी’ सम्मान


मोरङ- वैवाहिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले मोरङको सुन्दरहरैंचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ सम्मान कार्यक्रम ल्याएको छ। यो सम्मान त्यस्ता पति–पत्नीलाई दिइनेछ, जो विगत १० वर्षदेखि वैवाहिक जीवनमा रहेका छन् र कहिल्यै आपसी झगडा गरी कानुनी प्रक्रिया थालेका छैनन्।

नगरपालिकाका प्रवक्ता रोशनकुमार ढकालका अनुसार, कार्यक्रममार्फत नगरका १२ वडाबाट एक–एक जोडी छनोट गरिनेछ। छनोटमा पर्ने प्रत्येक जोडीलाई नगद ५ हजार रुपैयाँ र दोसल्लासहित सम्मान गरिनेछ।

उनका अनुसार, ढुकुर जोडीका लागि छनोट गरिने दम्पतीबीच अदालत, प्रहरी वा न्यायिक समितिमा कुनैपनि पारिवारिक उजुरी वा मुद्दा नपरेको हुनुपर्नेछ। यो सम्मान पति–पत्नीबीचको प्रेम मात्र होइन, समग्र परिवारमा देखिएको स्नेह, सहकार्य र समर्पणको कदर हो भन्ने धारणा नगरपालिकाको छ।

नगरपालिकाको न्यायिक समितिका अनुसार, पछिल्लो तीन वर्षमा ४८४ वटा उजुरी परेका थिए, जसमा १२६ वटा पारिवारिक विवादसँग सम्बन्धित थिए। बढ्दो पारिवारिक कलहलाई कम गर्न यो सम्मान कार्यक्रम ल्याइएको समितिका उजुरी प्रशासक निरज न्यौपानेले बताए।

सम्मानका लागि नगरपालिकाले तोकेको १२ वटा मापदण्डहरूमा नेपाली नागरिकता, सुन्दरहरैंचामा स्थायी बसोबास, विवाह, जन्म, नागरिकता दर्ता, संयुक्त परिवारमा बसोबासजस्ता विषय समावेश छन्।

प्रवक्ता ढकाल भन्छन्, “हामी यो कार्यक्रममार्फत व्यस्त जीवनशैलीका बाबजुद आपसी प्रेम, समझदारी र पारिवारिक सद्भाव कायम राख्न सफल जोडीहरूलाई प्रेरणा दिने प्रयासमा छौं।”

प्रतिक्रिया