नेपाली नागरिकमाथि आइएसआइकाे स्लिपर सेल भएकाे आरोप, दिल्लीमा पक्राउ


नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा पाकिस्तानी गुप्तचर संस्था आइएसआइको स्लीपर सेलमा संलग्न रहेको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ। दिल्ली प्रहरीले दुई जना एजेन्टलाई पक्राउ गरेको छ, जसमा एक नेपाली मूलका अन्सारुल मियाँ अन्सारी रहेका छन्। प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

प्रहरीका अनुसार  अन्सारीको साथबाट भारतीय सुरक्षासंस्थासँग सम्बन्धित गोप्य दस्तावेजहरू बरामद गरिएको छ। यो अपरेशन सन् २०२५ को जनवरीदेखि मार्च महिनासम्म सञ्चालन गरिएको थियो। उक्त अवधिमा दुई जनालाई पक्राउ गरी दिल्ली प्रहरीले मे महिनामा अभियोगपत्र दर्ता गर्‍यो र हाल दुबै जनालाई तिहाड जेलमा राखिएको छ।

पाकिस्तान भाग्ने प्रयासमा थिए अन्सारी
प्रहरी अनुसन्धानका क्रममा अन्सारी पाकिस्तान भाग्ने तयारीमा रहेको अवस्थामा दिल्लीमै पक्राउ परेका थिए। स्रोतका अनुसार, उनी आइएसआइको निर्देशनमा दिल्ली आएका थिए र गोप्य कागजातहरू सीडीमा सुरक्षित गरी पाकिस्तान पठाउने योजना बनाइरहेका थिए।

यस मामिलामा झारखण्ड, भारतका अखलाक आजम पनि संलग्न रहेका छन्। उनले दिल्लीमा अन्सारीलाई सहयोग गरेका थिए। दुबै जना पाकिस्तानस्थित ‘ह्यान्डलर’को नियमित सम्पर्कमा थिए। अखलाकलाई मार्चमा पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा अन्सारीको साथबाट सेनासँग सम्बन्धित अत्यन्तै संवेदनशील कागजातहरू समेत फेला परेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार, अन्सारी विगतमा कतारमा ट्याक्सी चालकका रूपमा काम गर्थे। त्यहीँ उनको भेट आइएसआइका एक ह्यान्डलरसँग भएको थियो। पछि उनलाई पाकिस्तान लगेर केहि दिन तालिम दिइएको थियो र नेपाल हुँदै भारत पठाइएको थियो।

भारतमा पछिल्ला दिनमा संवेदनशील सूचना पाकिस्तानसँग साझा गरेको आरोपमा केही अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्, जसमा हरियाणाकी युट्युबर ज्योति मल्होत्रा पनि रहेका छन्।

प्रतिक्रिया