
धुलिखेलमा करेन्ट लागेर ज्यान गुमाएका उपेशका परिवारलाई राहत र रोजगारी दिने सहमति
काभ्रे — धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको हाईटेन्सन लाइनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुर–१२ का २८ वर्षीय उपेश परियारका परिवारलाई राहत र रोजगारी दिने सहमति भएको छ।
विद्युत प्राधिकरण, ठेकेदार सुदीपा निर्माण सेवा, र स्थानीय प्रशासनबीचको सहमतिअनुसार परिवारलाई ठेकेदार कम्पनीबाट १० लाख र प्राधिकरणबाट ५ देखि १० लाखसम्म राहत दिइनेछ। साथै, मृतकका परिवारका एक सदस्यलाई प्राधिकरणमा रोजगारी दिने सहमति पनि भएको छ।
११ हजार भोल्टको लाइनमा तार जोड्ने क्रममा करेन्ट लाग्दा शनिबार उपेशको घटनास्थलमै मृत्यु भएको थियो। उनी ठेक्कामार्फत नेपाल विद्युत प्राधिकरणको काममा खटिएका थिए। लाइन नकटाई काम गराउने प्राधिकरणको लापरवाहीले दुर्घटना भएको भन्दै चर्को आलोचना भइरहेको छ।
प्रतिनिधिसभामा पनि सांसदहरूले यो दुर्घटना नभई हत्या भएको आरोप लगाएका थिए।



कागजपत्र |
