मिर्गौला प्रत्यारोपणपछि सगरमाथा शिखर पुगे सोलुका पेम्बा


काठमाडौं — मिर्गौला प्रत्यारोपण गरेका सोलुखुम्बुका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेपछि सगरमाथा चढ्ने उनी पहिलो व्यक्ति बनेका छन् ।

सगरमाथाको सफलतापूर्वक आरोहण गरी फर्किनुभएका शेर्पालाई काठमाडौँमा स्वागत गरिएको छ । उनलाई स्वागत गर्न अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

शेर्पाले बुधबार बिहान ९ बजेर ३० मिनेट जाँदा सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । शेर्पा एक महिनाअघि नै सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेका थिए ।

आरोही शेर्पाले अन्य स्वस्थ व्यक्तिलाई लेक लाग्ने, श्वासप्रश्वास बढ्ने जस्ता समस्या भए पनि आफूलाई केही नभएको बताए । उनले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने उद्देश्य सफल भएको बताए ।

विमानस्थलमा स्वागत गर्न पुगेका अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठले शेर्पाको सगरमाथा आरोहणले मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति पनि सामान्य व्यक्ति सरह नै सबै काममा सक्षम हुन्छन् भन्ने सन्देश दिएको बताए ।

२०७९ कात्तिक २ गते शेर्पाको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया