
निर्मला प्रकरणमा ‘ट्विस्ट एन्ड टर्न’ गराउने पत्रकार खेम भण्डारी दोषी ठहर
कञ्चनपुर – निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा ट्विस्ट एन्ड टर्न गराउने मुख्य पात्र मानिएका पत्रकार खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका छन्। तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले दायर गरेको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख क्षतिपूर्तिको सजाय सुनाएको हो।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार, पत्रकार भण्डारीले किरण विष्टको नाम जोडेर तथ्यहीन आरोप लगाउँदै सामाजिक सञ्जाल र समाचारमार्फत गाली बेइज्जती गरेका थिए।
मानसखण्ड दैनिकका सम्पादकसमेत रहेका भण्डारीले भने अदालतको फैसलासँग असहमति जनाउँदै उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्मलाको न्यायका लागि कलम चलाएको हुँ, नतिजा जेल पाएको छु। तर मेरो आवाज थामिने छैन। निर्मलाको न्यायको लडाइँ म जीवनभर लड्नेछु।”
१३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते साथीको घर पढ्न गएकी थिइन्। भोलिपल्ट उनी उखुबारीमा मृत फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या गरिएको थियो। सो घटनामा न्यायको माग गर्दै पत्रकार भण्डारी लामो समयदेखि सक्रिय थिए।



कागजपत्र |
