घाँस काट्न जाँदा हराएका सातै जना किशोरी भारतमा भेटिए !


जनकपुरधाम – मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएको सूचना प्राप्त भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले बेपत्ता सातै जना किशोरी भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको बताएका छन् ।

मेयर साहका अनुसार घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु मंगलबार दिउँसो बेपत्ता भएका थिए । उनीहरु हराएको सूचना प्राप्त भएलगत्तै प्रहरीको टोली निरन्तर खोजी कार्यमा खटिएको थियाे ।

बुधबार बिहान ती बालिका र किशोरीहरु भारतको सितामरीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उनीहरूकाे  पहिचान र उद्धारका लागि भारततर्फ गइसकेको मेयर साहले बताए । उनले भने, ‘मंगलबार राति अबेरसम्म खोजिए पनि हराएकाहरुलाई भेटन् सकिएन । तर, बुधबार बिहान भारतको सितमरामा रहेको सूचना प्राप्त भएसँगै त्यसतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रस्थान गरिसकेको छ ।’

मेयर साहका अनुसार घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।

प्रतिक्रिया