

सतुंगल आगलागी अपडेटः १० वटा पसल ध्वस्त

काठमाडौं – काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
बिहीबार बिहान ५ः२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो । आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायहरूमा पूर्ण रूपमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको छ । क्षतिको थप विवरण संकलन भइरहेको बताइएको छ ।
आगो निभाउनका लागि सशस्त्र प्रहरीबाट ४० जना र नेपाल प्रहरीका ३० जना गरी ७० जना सुरक्षाकर्मी खटिएका थिए ।

