बीजेपी मन्त्रीद्वारा कर्नेल सोफिया कुरेशीमाथि आपत्तिजनक टिप्पणी, भारतमा विवाद चर्कियो


काठमाडौ‌ं— भारतको मध्यप्रदेश राज्यका मन्त्री तथा सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता विजय शाहले भारतीय सेनाकी मुस्लिम महिला अधिकारी कर्नेल सोफिया कुरेशीलाई आतंकवादीसँग तुलना गर्दै दिएको विवादास्पद अभिव्यक्तिपछि भारतमा ठूलो विवाद सिर्जना भएको छ।

कर्नेल सोफिया कुरेशीले हालै भारतले पाकिस्तानविरुद्ध थालेको ‘अप्रेसन सिन्दूर’का बिवरण सार्वजनिक गर्दै पाकिस्तानी जवाफी कारबाहीमा भारतीय पक्षले बेहोरेको क्षतिको जानकारी दिएकी थिइन्। तर मन्त्री शाहले घटनाको वास्तविकता स्वीकार्ने साटो कर्नेल कुरेशीको धर्मको आधारमा उनीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।

उनले भने, “प्रधानमन्त्री मोदीले आतंकवादीहरूलाई पाठ सिकाउन उनीहरूको समुदायकै महिलालाई पठाए,” र कर्नेल कुरेशीलाई संकेत गर्दै भने, “हाम्रा भाइहरूको हत्या गर्नेहरूलाई सिकार बनाउन हाम्रा बहिनीहरूलाई पठाइएको हो।”

शाहको यस बयानपछि भारतमा विशेष गरी विपक्षी कंग्रेस पार्टीले उनको राजीनामाको माग गर्दै तीव्र विरोध जनाएको छ। कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले शाहको वक्तव्यलाई “घृणास्पद, अपमानजनक र विभाजनकारी” भन्दै तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन्।

विवाद बढेपछि मन्त्री शाहले एक खेद व्यक्त गर्दै भनेका छन्, “मेरो भनाइले कसैलाई ठेस पुगेको भए म माफी माग्न तयार छु। म कर्नेल सोफियालाई आफ्नी बहिनीजस्तै सम्मान गर्छु।”

बहुजन समाज पार्टी (बसपा) प्रमुख मायावतीले पनि मन्त्री विजय शाहद्वारा सेनाको महिला अधिकृतप्रति गरिएको टिप्पणीलाई घृणित र अमर्यादित भनेकी छन्। उनले यस्तो अभिव्यक्ति दिने मन्त्रीमाथि कडा कारबाही हुनुपर्ने बताउँदै देशको आपसी सद्भाव र सामाजिक समरसता नबिग्रियोस् भन्ने आग्रह गरेकी छन्।

मायावतीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, “पहिले विदेश सचिव र त्यसपछि सेनाकी महिला अधिकृतप्रति गरिएको यो घृणित, अमर्यादित र असभ्य टिप्पणीले पाकिस्तानविरुद्ध भारतीय सेनाको ‘अपरेशन सिन्दूर’ सफलतापूर्वक सम्पन्न भएको उत्साहजनक वातावरणलाई नष्ट गरेको छ।” उनले यस घटनालाई अत्यन्त दुखद र लज्जास्पद पनि भनेकी छन्।

 

प्रतिक्रिया