

बेमौसमी बाढीमा बेपत्ता पनौतीकी रेनुका अझै भेटिइनन्

काठमाडौं — काभ्रेमा सोमबार अपरान्ह आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।
पनौतीमा आएको बाढीले बगाउँदा पनौती नगरपालिका—५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको हिजोदेखि नै खोजी सुरु गरिए पनि बेलुका भएपछि खोजी स्थगित गरिएको थियो । आज बिहानबाट फेरि खोजी सुरु गरिएको छ ।
बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा क्षति पुर्याएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी, बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ ।
रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ को सिमानामा पर्ने माम्ती खोला नजिकै डाइभर्सन बगाएपछि बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
सो स्थानमा आज बिहानैदेखि बाटो मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाटो मर्मतको काम भइरहेकाले पूर्वतर्फबाट आइरहेका सवारी साधनलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ । यसैगरी ‘काठमाडौंतर्फबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।

