पाकिस्तानले भारतमाथि गर्‍यो ड्रोन आक्रमण, जम्मु क्षेत्रमा ‘ब्ल्याकआउट’


नयाँ दिल्ली – पाकिस्तानले जम्मूमाथि ड्रोन आक्रमण गरेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो । भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस–४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ ।

आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ । पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ भने आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको र स्थानीयले विभिन्न ठाउँमा विस्फोटको आवाज सुनेको बताएका छन् ।

पाकिस्तानी गतिविधि तीव्र भएपछि भारतको सीमावर्ती राज्यहरू–पंजाब, जम्मु–कश्मीर र राजस्थान उच्च सतर्कतामा राखिएका छन् । राजस्थानका बाड़मेर, जैसलमेर, जोधपुर लगायतका सीमावर्ती जिल्लाहरूमा पनि विद्युत आपूर्ति बन्द (ब्ल्याकआउट) गरिएको छ । यसअघि पनि यी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म ब्ल्याकआउट गर्ने आदेश दिइएको थियो ।

यसैबीच भारतको पञ्जाव प्रान्तमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतले दाबी गरेको छ ।

त्यहाँका प्रहरी स्रोतका अनुसार, भारतको पञ्जाब प्रदेशको पठानकोट सहरमा पुलिसले विस्फोटको रिपोर्ट प्राप्त गरेको छ ।

प्रहरी स्रोतले भने, “पुलिस अधिकारीहरूले स्थिति पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।”

पाकिस्तानको आक्रमणको असर जारी आईपीएलमा पनि परेको छ । आक्रमणका कारण धर्मशाला मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रोकिएको छ ।

मैदानका सबै फ्लडलाइटहरू निभेका छन् र त्यहाँबाट सबैलाई खाली गराइएको छ । खेल रोकिँदासम्म पञ्जाबले १० दशमलव १ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको छ ।

प्रतिक्रिया