

सचिव सुवेदीलाई कारवाही नगरेको भन्दै सुदूरपश्चिमका पत्रकारहरु आन्दोलित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका कानून सचिव लिलाधर सुवेदीले सामाजिक सञ्जालमा पत्रकारहरू लक्षित गरी लेखेको स्टाटसप्रति आपत्ति जनाउँदै विभिन्न पत्रकार संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन्।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, कैलाली शाखा, र अन्य पत्रकार संघसंस्थाहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सचिव सुवेदीमाथि कारवाहीको माग गरेका हुन्। उनीहरूले प्रदेश सरकार र मुख्यमन्त्री कमलबहादुर शाहलाई सचिवको अमर्यादित व्यवहारप्रति निरिह र गैरजिम्मेवार रहेको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “सचिव सुवेदीले पटक–पटक पदीय मर्यादा विपरीतका अराजक स्टाटस लेखिरहँदा पनि प्रदेश सरकारले कुनै ठोस कदम नचाल्नुले सरकारको कमजोरी प्रस्ट भएको छ।”
पत्रकार महासंघको नेतृत्वमा गएको टोलीसँग मुख्यमन्त्री शाहले बिहीबार साँझसम्म कारवाही गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै ठोस कार्यवाही नभएको महासंघको भनाइ छ।
पत्रकारहरूले बैशाख २६ गतेसम्म सचिव सुवेदीमाथि कारवाही नभए कालोपट्टीसहित धर्ना, कोणसभा, प्रदर्शन र सरकारी कार्यक्रम बहिष्कारजस्ता आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष भरतबहादुर शाह, कैलाली अध्यक्ष श्रवण देउवा, प्रेस युनियन उपाध्यक्ष टेकेन्द्र देउवा, प्रेस चौतारी उपाध्यक्ष मीन ठकुरी, प्रेस युनियन कैलाली अध्यक्ष सीताराम ओझा, प्रेस चौतारी कैलाली अध्यक्ष जनक सिंह विष्ट, र समाजवादी प्रेस संगठन अध्यक्ष लक्ष्मी प्रसाद जैसीको हस्ताक्षर रहेको छ।
सचिव सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसको दिन फेसबुकमा अन्नपूर्ण पोस्टमा प्रकाशित आफ्नो विरोधमा लेखिएको समाचार सेयर गर्दै “पैसा खाएर समाचार लेख्ने पत्रकारहरूलाई पनि शुभकामना” लेखेका थिए। उक्त टिप्पणीले पत्रकार समुदायको गम्भीर ध्यानाकर्षण गराएको छ।

