

भारत-पाक तनावबीच सांसद तामाङको माग- गोर्खा सैनिकलाई प्रयोग नगरियोस्

काठमाडाैं- पाकिस्तान र भारतबीच बढ्दो तनावका सन्दर्भमा सांसद मिना तामाङले नेपाली गोर्खा सैनिकलाई सम्भावित युद्धमा पहिलोपटक प्रयोग नगरियोस् भन्ने माग राखेकी छिन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो संवेदनशील विषयमा नेपाल सरकारले भारत सरकारसँग गम्भीर छलफल र पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले भनिन्, “पाकिस्तान र भारतबीचको सम्भावित लडाइँमा पहिलोपटक नेपाली गोर्खाली सैनिक प्रयोग नगरियोस् भन्नेबारे भारत सरकारसँग गम्भीर वार्ता होस् भन्ने माग गर्दै सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”
सांसद तामाङले सीमा क्षेत्रमा भइरहेको हिंसात्मक घटनाका कारण भारतमा रोजगारीका लागि गएका नेपालीको सुरक्षाबारे पनि चिन्ता व्यक्त गरिन्। उनले भनिन्, “कश्मीर क्षेत्रमा भएको हमलाले मानवीय क्षति र त्रास फैलिएको छ। यस्तो परिस्थितिमा पाकिस्तानले लक्षित गरेका भारतीय सहरहरूमा रहेका नेपालीहरू जोखिममा पर्न सक्ने भएकाले उनीहरूको उद्धार र सुरक्षाबारे पनि सरकार गम्भीर होस्।”

