पाकिस्तानसँगको तनावबीच भारतभर ‘मक ड्रिल’


नयाँ दिल्ली — कश्मीरको पहलगाममा हालै भएको घातक हमलापछि भारत सरकारको गृह मन्त्रालयले सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई मे ७ मा देशव्यापी ‘सिभिल डिफेन्स’ पूर्वाभ्यास (मक ड्रिल) गर्न निर्देशन दिएको छ। यो कदम भारत–पाकिस्तानबीच बढ्दो तनाव र सुरक्षा चुनौतीका सन्दर्भमा लिइएको संकेत देखिन्छ।

बीबीसीका अनुसार  गृह मन्त्रालयको सिभिल डिफेन्स तथा होम गार्ड विभागले ५ मेमा जारी गरेको निर्देशन सबै २४४ सूचीबद्ध जिल्लामा लागू हुनेछ। सहरदेखि गाउँसम्म हुने यो अभ्यासमा हवाई हमला, आपतकालीन प्रतिक्रिया, विद्युत अवरोध, जनसुरक्षा स्थानान्तरण लगायत विभिन्न स्थिति समेटिनेछ।

यस अभियानमा कन्ट्रोल रूमको परीक्षण, आम जनतालाई सचेतना प्रशिक्षण, तथा विद्यालय–कलेजका विद्यार्थी, स्वयंसेवक, होम गार्ड, एनसीसी र एनएसएस सदस्यहरूको सहभागी हुने अपेक्षा गरिएको छ।

पहलगाम हमलामा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध कडा कूटनीतिक तथा व्यापारिक कदम चालेको छ। पाकिस्तानसँगको व्यापार बन्द, सिन्धु सम्झौता निलम्बन, तथा बन्दरगाह प्रयोगमा रोकसमेत लगाइएको छ।

समानान्तर रूपमा पाकिस्तानले पनि भारतविरुद्ध जवाफी कारबाही गर्दै भारतीय विमानलाई आफ्नो हवाई क्षेत्रमा निषेध, भिसा निलम्बन, तथा वाघा सीमा बन्द गरेको छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले “देशमाथि आँखा उठाउनेलाई कडा जवाफ दिने” चेतावनी दिएका छन्। सुरक्षा दृष्टिकोणले संवेदनशील अवस्थामा रहेको भारतले यो व्यापक पूर्वाभ्यासलाई सम्भावित खतरा प्रतिरोधको अभ्यासका रूपमा लिएको देखिन्छ।

प्रतिक्रिया