

दार्चुलाको नेपाली भूमिमा भारतको तटबन्ध

दार्चुला- दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदी पारिको नेपाली भूमिमा भारतले एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहँदा स्थानीय राजनीतिक दल र बासिन्दाहरूले त्यसको कडा विरोध जनाएका छन्।
२०७० सालको बाढीपछि क्षतिग्रस्त भूभागमा भारतले तटबन्ध बनाउने नाममा नेपाली भूमि अतिक्रमण गर्दै आएको आरोप छ। अहिले महाकाली नगरपालिका–४ र ५ आसपासको क्षेत्रमा नदीको प्राकृतिक प्रवाह नै परिवर्तन हुने गरी तटबन्ध निर्माण भइरहेको छ, जसले दीर्घकालीन भू–राजनीतिक प्रभाव पार्न सक्ने विज्ञहरूको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले यसप्रति गम्भीर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। पार्टीका अध्यक्ष ज्ञानेन्द्र घर्तीका अनुसार, निर्माण कार्य तत्काल रोक्न र समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख अनिल पौडेलले पनि भारतीय पक्षसँग निरन्तर सम्पर्कमा रहेको र निर्माण रोक्न आग्रह गरिसकेको जानकारी दिएका छन्। उनले केन्द्रसँग पत्राचारसमेत गरिरहेको बताएका छन्। स्थानीयहरूले भने सरकारको प्रतिक्रिया ढिलो भइरहेको भन्दै असन्तोष व्यक्त गरेका छन्।

