भर्ना नै नभएका विद्यार्थी स्ववियु सभापति !


कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित राष्ट्रिय कलेजमा अघिल्लो चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा विजयी भएका सभापति सुन्दर गौतम फर्जी विद्यार्थी भएको पुष्टि भएपछि क्याम्पसमा खैलाबैला मच्चिएको छ।

एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघको संयुक्त गठबन्धनलाई पराजित गर्दै माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार गौतमले सभापति पदमा भारी मतले जित हासिल गरेका थिए। उनले गठबन्धनका उम्मेदवारलाई ९७ मतले पछाडि पार्दै पहिलो स्थान हासिल गरेका थिए।

तर, निर्वाचन सकिएको करिब डेढ महिनापछि गौतमले कलेजमा भर्ना नै नगरेको र किर्ते कागजातमार्फत उम्मेदवार बनेको खुलेको हो। स्नातक तह पास गरिसकेका गौतमले स्नातकोत्तरमा औपचारिक भर्ना नगरी उम्मेदवारी दिएको तथ्य बाहिर आएको हो।

क्याम्पस प्रशासनकै मिलेमतोमा फर्जी भर्ना
गौतमको नाम कलेजको लेजर फाइलमा राख्न लेखा शाखाका कर्मचारी लक्ष्मण चौधरी संलग्न रहेको पाइएको छ। उनले अर्की विद्यार्थी यमुना बोहराको रसिद नम्बर १६६/११२४३ प्रयोग गरी गौतमको नाम भर्ना दर्ता पुस्तिकामा चढाएका थिए। यमुनाले २०८१ साल फागुन १३ गते स्नातक प्रथम वर्षको भर्ना शुल्क बुझाएकी थिइन्।

क्याम्पस प्रमुख देवेन्द्र कुमार प्रसाईँले यस विषयमा आफू अनविज्ञ रहेको र अहिले मात्रै थाहा पाएको बताए। निर्वाचन संयोजक प्रभात बोगटीले लेखा शाखाबाट प्राप्त मतदाता नामावलीकै आधारमा उम्मेदवारी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

लेखापालको स्वीकारोक्ति: दबाबमा फर्जी काम
लेखापाल चौधरीले सभापति गौतमको आग्रहमा रकम नतिरी भर्ना प्रक्रिया अगाडि बढाएको स्वीकार गरेका छन्। उनले भने, “चुनाव आयो, उनले नाम चढाइदिन भने। मैले रकम नभई सम्भव छैन भने। पछि उनले दबाब दिएपछि अन्दाजी रसिद नम्बर हालेर नाम चढाइदिएको हुँ।”

स्ववियु सभापति गौतमले भने आफूले इन्ट्रान्स दिएकाे र कागजात बुझाएको दाबी गरेका छन्। उनले भने, “मैले भर्ना गरिदिन भनेको हो, तर पछि के भयो, मलाई थाहा छैन।”

विवादित भर्ना प्रकरण सार्वजनिक भएसँगै स्ववियुका निर्वाचित पदाधिकारीहरूको शपथसमेत रोकिएको छ। जिल्ला अदालत कैलालीमा फर्जी मतदाता रहेको भन्दै मुद्दा दर्ता भइसकेको छ भने सभापति फर्जी भएको पुष्टिले निर्वाचनको नैतिकता र वैधता माथि गम्भीर प्रश्न खडा गरेको छ।

क्याम्पस प्रशासनले अब सर्वदलीय छलफलको तयारी गरेको छ।

प्रतिक्रिया