मधेशवादी दलबीचको एकता रोक्न षड्यन्त्र भएको राउतको दाबी


काठमाडौं-  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारीलाई गम्भीर राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।

बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका चौधरीलाई लिन पुगेका राउतले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा हुन लागेकै दिन चौधरी पक्राउ परेकोप्रति आपत्ति जनाउँदै यो घटनामा उच्च तहको संलग्नता रहेको दाबी गरे। “यो सामान्य पक्राउ होइन, कर्मचारीलाई मोहरा बनाइएको हो,” राउतले भने, “रेशम चौधरीले त जेलमै बसेर एकीकरण अघि बढाउन भन्नुभएको थियो।”

उनले मधेशवादी दलहरूबीचको सम्भावित एकता प्रक्रिया भंग गर्न योजनाबद्ध रूपमा षड्यन्त्र गरिएको आशंका व्यक्त गरे। “हामी सशक्त शक्ति बन्ने प्रक्रियामा थियौँ, त्यसैले यो प्रयास हाम्रो एकतालाई भाड्ने नियतले गरिएको देखिन्छ,” उनले भने।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टद्वारा पठाइएको नक्कली पत्रका आधारमा प्रहरीले चौधरीलाई काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरेको थियो। सो दिन जनमत र नाउपाबीच पार्टी एकता घोषणा हुने तय थियो।

रिहा भएपछि रेशम चौधरीले पार्टी एकीकरण प्रक्रिया जारी राख्न आग्रह गरिसकेको र यो प्रक्रिया चाँडै टुंग्याइने पनि राउतले स्पष्ट पारे।

 

प्रतिक्रिया