२४ दिनपछि नजरबन्द मुक्त, सुवेदीले पुनः सम्हाले राजसंस्था आन्दोलनको नेतृत्व


काठमाडौं — राजसंस्था पुनःस्थापनाका पक्षमा भएको आन्दोलन केही समय चुपचाप देखिए पनि संयोजक नवराज सुवेदीको पुनरागमनसँगै फेरि नयाँ मोडमा प्रवेश गरेको छ । १५ चैतको उग्र प्रदर्शनपछि प्रहरी निगरानीमा परेका सुवेदी मंगलबार नजरबन्दमुक्त भएपछि आफ्नो पुरानो भूमिकामा फर्किएका छन् ।

२४ दिनसम्म प्रहरीले गौरीघाटस्थित सुवेदीको निवास वरिपरि निगरानी राखेको थियो । प्रहरीको भनाइमा यो ‘सुरक्षाका लागि सामान्य प्रक्रिया’ मात्र थियो भने समितिको धारणा अनुसार सुवेदी ‘नजरबन्दमा राखिएका’ थिए । यद्यपि अब उनी स्वतन्त्र रूपमा गतिविधिमा फर्किएका छन् ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले सुवेदीको पुनरागमनपछि आफू सल्लाहकारको भूमिकामा सरेको बताएका छन् । उनले आन्दोलनको अभियानलाई सफल बनाउन आफूले सधैं साथ दिने पनि प्रस्ट पारे ।

गएको चैत १५ गतेको प्रदर्शनमा हिंसात्मक घटना भएपछि सुवेदीसहित केही नेताहरूमाथि निगरानी बढाइएको थियो।  सो दिनको झडपमा दुई जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका थिए, जसमा प्रहरी गोली चलाउनु परेको थियो । त्यसक्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्दा प्रहरीद्वारा राप्रपाका नेता रवीन्द्र मिश्र, व्यवसायी दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया