भारतमा पूर्वडीजीपीको हत्या, पत्नीले गुगलमा खोजेकी थिइन् हत्याको तरिका


बेंगलुरु — भारतमा  पूर्व कर्नाटक प्रहरी महानिर्देशक (डीजीपी) ओमप्रकाशको हत्या घटनामा चकित पार्ने खुलासा भएको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार, ओमप्रकाशकी पत्नी एवं मुख्य अभियुक्त पल्लवीले हत्या हुनु पाँच दिनअघि ‘घाँटीको नसा र रक्तनली काट्दा कसरी मृत्यु हुन्छ’ भन्नेबारे गुगलमा खोज गरेकी थिइन् ।

आइतबार साँझ बेंगलुरुस्थित आफ्नै निवासमा ओमप्रकाश छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए । प्रहरी स्रोतका अनुसार, घटनापछि पल्लवी र उनकी छोरी कृति पक्राउ परेका थिए । पल्लवीलाई सोमबार मजिस्ट्रेट समक्ष उपस्थित गराएर १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ भने कृतिलाई मानसिक अवस्था जाँच गर्न निम्हान्स अस्पतालमा भर्ना गरिएको छ ।

सोमबार साँझ प्रहरीले पल्लवीलाई घटनास्थलमा लिएर गएर पुनः अनुसन्धान गर्यो । त्यहाँ उनी ‘घरेलु हिंसा’को कुरा गर्दै हत्या गरेकी थिइन् भन्ने स्रोतको दाबी छ ।

हत्या अघि पल्लवीले विभिन्न व्हाट्सएप समूहहरूमा सन्देश लेख्दै आफू आफ्नै घरमा बन्धक जस्तो महसुस गरिरहेको, बारम्बार विष खुवाइएको र छोरीको सुरक्षाको चिन्ता लागेको उल्लेख गरेकी थिइन् ।

यो उच्च-प्रोफाइल हत्या प्रकरण बेंगलुरु प्रहरी आयुक्त बी. दयानन्दले केन्द्रीय अपराध शाखामा हस्तान्तरण गरेका छन् । सीसीबीले आजबाट औपचारिक रूपमा अनुसन्धानको जिम्मा लिनेछ।

प्रतिक्रिया