

डोटीमा पहिलोपटक पर्यटक प्रहरी चौकी स्थापना

डोटी- सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्र भ्रमण गर्न आउने पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै दिपायल सिलगढी नगरपालिकामा पर्यटक मैत्री प्रहरी चौकी स्थापना गरिएको छ।
खप्तड राष्ट्रिय निकुञ्ज र वरपरका रमणीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकहरूलाई लक्षित गर्दै नगरपालिकाले अस्थायी रूपमा चौकी संचालनमा ल्याएको हो। नगर प्रमुख बाँजिसिंह खड्का (विजय) का अनुसार चौकी स्थापना पर्यटन प्रवर्द्धन र सुरक्षाको साझा उद्देश्यलाई ध्यानमा राखेर गरिएको हो।
“पर्यटकले सुरक्षाको अनुभूति गरुन्, बसाइँ लम्ब्याउन चाहुन् र डोटीको सौन्दर्यलाई आत्मसात् गरुन् भन्ने हाम्रो चाहना हो,” नगर प्रमुख खड्काले भने।
प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको नेतृत्वमा खटाइएको ७ जनाको प्रहरी टोलीले चौकीको सञ्चालन गरिरहेको छ। चौकीले पर्यटकहरूलाई जानकारी तथा गाइड सेवा दिनुका साथै, कुनै प्रकारको दुर्व्यवहार वा आपराधिक गतिविधिबाट जोगाउने जिम्मेवारी पाएको छ ।
यो प्रयास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा गरिएको हो, जसले दीगो पर्यटन विकासका लागि स्थानीय तहको सक्रियतामा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
स्थानीय व्यवसायीहरू तथा होटल संचालकहरूले पनि पर्यटक सुरक्षामा जोड दिइएको यस कदमको स्वागत गरेका छन् ।

