

तीनकुने घटनाबारे यसो भन्छन् पूर्वराजा ज्ञानेन्द्र [भिडिओ]

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत शाहले उक्त घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
भिडियो सन्देशमा शाहले भने, “केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जसरी मानवीय तथा भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।”
तीनकुने घटनापछि प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजासँग धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए । केही सांसदहरूले त उनलाई संसदीय समितिमा बोलाएर प्रश्न गर्नुपर्ने धारणा समेत राखेका थिए । घटनापछि पूर्वराजाले पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् ।
शाहले नागरिक स्वतन्त्रतालाई सर्वोच्च मूल्य मान्दै भने, “नागरिक स्वतन्त्रता भन्दा ठूलो अरु कुनै तन्त्र हुँदैन । वास्तविक प्रजातन्त्र भएका ठाउँमा जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।”
पूर्वराजाको सन्देश संवाद सचिवालयका तर्फबाट फणिराज पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

