त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टाराको जाँच गर्न ६ घण्टा लाग्ने


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण पुनः सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ । वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको बताइएको छ ।

भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने बताइएको छ ।

भिस्टाारा एयरलाइन्सको विमानमा लगातार ६ घण्टासम्म सर्च (तलासी) गरिने भएको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण वज्राचार्यका अनुसार, विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) रहेको पाइएको छ ।

प्रतिक्रिया