काँग्रेस छाडेका सापकोटा बने सुर्खेतको रास्वपा सभापति
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला समितिको सभापतिमा रमेशकुमार सापकोटा चयन भएका छन् । बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले सापकोटालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि नेपाली काँग्रेसको वीरेन्द्रनगर नगर कमिटी सचिव रहेका सापकोटाले बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए । उनले काँग्रेस नगर सचिवबाट राजीनामा दिनुको कारण भने कार्यव्यस्तता देखाएका थिए ।
तर काँग्रेस नेतृत्वको पेलानका कारण राजीनामा दिएको उनी निकट नेताहरू बताउँछन् । सुर्खेत काँक्रेविहार यातायात प्रालिको अध्यक्षसमेत रहेका सापकोटा यातायात समितिमा पछिल्लो समय देखिएको विवादकै कारण पार्टी परित्याग गरेको नेताहरू बताउँछन् ।
काँग्रेस नेतृत्वको व्यवहार ठिक नभएकै कारण आफूले पार्टी परित्याग गरेको सापकोटाले बताए ।