काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी वितरण


सिन्धुपाल्चोक – काठमाडौँ उपत्यकामा आज (मंगलबार) देखि मेलम्चीको पानी पुनः वितरण थालिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरू गरेका हुन् ।

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए ।

उनले भने, ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौं । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।’ मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । संघर्ष समितिसँग वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड रुपैयाँ लिटर पानी वितरण गर्दै आएको थियो ।

विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ । दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७÷१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमीमध्ये करिब ७ सय किमि पाइप बिच्छ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

१७ बुँदे माग राख्दै आएको मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, खानेपानीको मुहान क्षेत्रको स्थानीय सरकार हेलम्बु गाउँपालिका र खानेपानी मन्त्रालयबीच १० बुँदे सम्झौता भएको छ । त्रिपक्षीय सम्झौतापछि मेलम्चीको पानी मंगलबारबाट राजधानी पठाउन सुरु गरिएको छ। बाढीप्रभावित हेलम्बुबासीको समस्या हल गर्ने सहमति गरेपछि हेलम्बु गाउँपालिका–१ अम्बाथामा रहेको सुरुङबाट पानी पठान्तरण सुरु गरिएको हो ।

प्रतिक्रिया