यस्तो छ रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बूलगायत जिल्ला जाने गाडीलाइ ‘टाइम कार्ड’


दोलखा – गत साताको बाढी–पहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बूलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।

चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट ९२२ किमी कम्तीमा एक घण्टा, चरिकोट–किर्नेटार ९३९ किमी कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट–जिरी ९५६ किमी कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट–सिँगटी ९३९ किमी का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।

यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । खरिढुङ्गा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गरे ।

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुङ्गा मन्थली, सोलुखुम्बूलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका छन् ।

प्रतिक्रिया