मिक्सर ट्रकले ठक्कर दिंदा एक सशस्त्र प्रहरीको मृत्यु


मोरङ – कोशी राजमार्गको मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आज (आइतबार) दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो । पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको जानकारी दिए । उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले दिउँसो २ः४५ बजेतिर मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । धनकुटाको साँगरीगढी गाउँपालिका–९ घर भएका उनको विराटमै उपचार भएको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया