मोरङ प्रहरीले समात्यो विप्लवका ठूला नेता, बन्दुक र विस्फोट पदार्थ जफत


काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई ठूला नेतालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट हातहतियार र विस्फोट पदार्थ समेत जफत गरिएको छ ।

विप्लव नेतृत्वको पार्टीका कम्पनी कमिसार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय विज्ञान राई (सनम)लाई मोरङका प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काको टोलीले नियन्त्रणमा लिएको हो ।

बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुलीप्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा हातहतियार र विस्फोट सामानसहित नियन्त्रणमा लिइएको हो ।

भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामान उनीहरूको साथबाट जफत गरिएको छ ।

पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन्, घिमिरे । विज्ञान राई पार्टीको साधारण सदस्य रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया