हामी नेपाली एक भएर विपत्तिकाे सामना गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसक्ने बताए ।

उनले सरकारको सचेतताकै कारण ४ हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने बताए । ‘यो कुरा पनि हामीले देख्नुपर्छ । केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीले भने । उनले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए ।

ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताए।

प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइ सकिएको उल्लेख छ।

प्रतिक्रिया