बैतडीमा सल्लाको रुखले जोगायो ६ यात्रुको ज्यान


बैतडी- बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ।

जिल्लाको छेला–दुर्गाभवानी सडकको डुवापानीमा से१ज ३२० नम्बरको बोलेरो जिप गएराति १०ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर चालकसहित ६ जना घाइते बैतडीको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशील नाथ र जिप चालक दशरथ नाथ रहेका छन् । घाइतेमध्ये दिलिपको अवस्था गम्भीर रहेको छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ ।

अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। जिप सडकबाट १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको ढुंगानाले बताए । आठजना सवार रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ ।  सवार दुईजना भने सकुसल रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया