पहिरोले घर पुरियो, अन्तै सुतेकाले मान्छे सबै जोगिए


बैतडी- पहिराले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको ४ कोठे पक्की घर पहिराले पुरेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। गएराति १२ बजे खसेको पहिरोले घर पूर्णरूपमा क्षति भएको छ ।

पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुडा पुरिएका छन् ।

पहिरो आउने आशंकाले घरका सबै मान्छे गाउँले घरमा बसेका थिए । पहिराले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् ।

प्रहरीको टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया