यी १० प्रकारका अपराधमा संलग्न नहुने सर्तमा १७९ कैदी छुट्दै


काठमाडौं – महान्यायाधिवक्ताको कार्यालयले १७९ जना कैदीलाई प्यारोलमा छाड्ने निर्णय गरेको छ । सोमबार बसेको महान्यायाधिवक्ता नेतृत्वको संघीयप्रोबेसन तथा प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा छाड्ने निर्णय गरेको हो ।

“दुई तिहाइ सजाय भुक्तान गरिसकेका १७९ लाई सर्तसहित ‘प्यारोल’मा छोड्ने निर्णय भएको छ,” महान्यायाधिवक्ता रमेश बडालले भने, “उनीहरू यस निर्णयबाट मात्र छुट्दैनन् । यो निर्णयसहितको निवेदन सम्बन्धित जिल्ला अदालतमा जान्छ र अदालतको आदेशबाट उनीहरू कैदमुक्त भएर सर्तबमोजिमका भूमिकामा रहन्छन् ।”

यसअघि, पनि ६३५ जना प्यारोलमा छुटेका छन् । १७९ जनालाई छाड्ने निर्णय कार्यान्वयन भएपछि मुलुकी फौजदारी कार्यविधि संहिताको नयाँ संशोधनबमोजिमको सुविधा पाउनेको संख्या ८१४ हुन्छ ।

प्यारोलमा छुटेका कैदीहरूले सर्तबमोजिमको व्यवहार गरेरनगरेको भनेर कारागार व्यवस्था विभागले अनुगमन गर्ने गरेको छ । अहिलेसम्म एक जनाले मात्र सर्त उल्लंघन गरेको रिपोर्ट रहेको महान्यायाधिवक्ता बडालले जानकारी दिए ।

कुन–कुन अपराध गर्नेलाई प्यारोल सुविधा हुँदैन ?

१० प्रकारका अपराधमा संलग्न कैदीहरूले प्यारोलमा बस्ने सुविधा पाउँदैनन् । जन्मकैदको सजाय पाएका, भ्रष्टाचारको कसूरमा सजाय पाएका, जबरजस्ती करणी, तेजाब आक्रमण, मानव बेचविखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र यातना तथा क्रुर अमानवीय व्यवहारमा सजाय पाएका कैदीहरूले प्यारोलमा बस्न पाउँदैनन् । राज्यविरुद्धको अपराध र मानवता विरुद्धको अपराध सम्बन्धी कसुरमा सजाय पाएकाहरूले पनि प्यारोल सुविधा पाउँदैनन् ।

 

 

प्रतिक्रिया