वडा कार्यालयमा कसले छाडेर गए दुई लाखसहितको झोला ?


कास्की-  कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकालीको वडा कार्यालयमा दुई लाख रुपैयाँसहितको झोला फेला परेको छ ।

गत आइतबार साँझ पाँच बजेको समयमा वडा कार्यालयमा वडा सचिव अन्जु गुरुङ रहने गरेको कोठा नं. १ मा उक्त झोला फेला परेको हो । कार्यालयको सोफामा खैरो रङको पछाडि भिर्ने झोला कोही अपरिचितले छाडेर गएकोमा कसैले पनि दाबी नगरेपछि वडा कार्यालयले झोलाको बारेमा प्रहरीमा खबर गरेको छ ।

वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले सुरक्षा सतर्कताका सात वडा सदस्यहरूको रोहबरमा झोला खोलेर हेर्दा दुई लाख रुपैयाँ नगदसहित कपडा, क्यामेरा, मोटरसाइकलको चाबी फेला परेका थिए ।

नगदसहितको झोला वडा प्रहरी कार्यालयमा राम बजारमा नै रहेको र कोही कसैले दाबी गर्ने भएमा प्रमाण देखिने कागजातसहित वडा प्रहरी कार्यालयको सम्पर्कमा आउन कास्की प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया