पूर्वसांसद ढाकाकुमारमाथि अनुसन्धान गर्न दुई दिन म्याद थप


पोखरा – लागुऔषध बिक्री गरेको मुद्दामा तानिएका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ अझै दुई दिन हिरासतमा बस्ने भएका छन्। अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले फेरि दुई दिनको म्याद थप गरेको हो।

उनी भदौ २७ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट पक्राउ परेका थिए। सुरुमा तीन दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो। पूरा नभएपछि दुई दिनको म्याद थपियो।

फेरि मंगलबार दुई दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए। साउन ३ गते लागुऔषध मुद्दामा प्रकाउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका सञ्चालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो।

प्रहरीले उनको साथबाट ९७ ट्याब्लेट ट्यापेन्टाडोल बरामद गरेको गरेको थियो। वयानमा डा. ढाकाको फार्मेसीबाट खरिद गरेको बताएपछि अनुसन्धानमा तानिएका हुन्। नियन्त्रित औषधि औषधि व्यवस्था विभागले बिक्री वितरणमा कडाइ गरेपछि पोखराबाट धमाधम फार्मेसी सञ्चालक पक्राउ पर्न थालेका छन्।

प्रतिक्रिया