नेपालको खनिज र पर्यटनमा लगानी गर्न जाम्बियाले देखायो चासो


काठमाडौँ – जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ ।

नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् ।

उनले उद्योग मन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको जानकारी गराएका छन् ।

आफूहरूका लागि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न तयार रहेको उनले बताए । भ्रमणका क्रममा प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढ्न आग्रह गरेका थिए ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यावसायिक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । प्याट्सको भ्रमणले नेपालमा जाम्बियाबाट लगानी भित्र्याउन मार्गप्रशस्त गरेको जाम्बियाका लागि नेपाली वाणिज्य दूत देशबन्धु बस्नेतले बताए ।

प्रतिक्रिया