नेपालको पहिलो ‘एयर हाइज्याक’, गिरिजाको योजनामा ३० लाख भारू लुटिँदा


काठमाडाैं- २०३० साल जेठ २८ गते नेपालको इतिहासमा पहिलो विमान अपहरण भएको थियो । यसको मुख्य नाइके नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला थिए, जो पछि ५ पटक नेपालको प्रधानमन्त्री समेत निर्वाचित भएका थिए ।

विमान अपहरणको योजना नेपाल राष्ट्र बैङ्कको विराटनगरबाट काठमाडौंमा ल्याएको पैसा लुट्नु थियो । लुटेको पैसाले नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाको लागि सशस्त्र क्रान्ति गर्नु थियो । जुन क्रान्ति राजा महेन्द्रको प्रत्यक्ष शासनको निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध थियो ।

शाही नेपाल वायुसेवा निगमको त्यो सानो १९–सिटे ट्विनअटर विमान ‘९-एनएबीबी’ विराटनगरबाट काठमाडौं जान भनेर उडकाे थियाे ।  विमानमा चालक दलका तीन सदस्य र अभिनेत्री माला सिन्हा सहित १९ यात्री सवार थिए।  विमानका पाइलट केदारराज मानन्धर, को–पाइलट श्रीदेव वैद्य र पुरूष परिचारक थिए ।

त्याे दिन नेपाल राष्ट्र बैकले भारू ३० लाख विराटनगरबाट काठमाडौं लैजान खोजेको थाहा पाएपछि  गिरिजाप्रसाद कोइरालाको निर्देशनमा त्यो विमान अपहरणकाे याेजना बनेकाे थियाे । साेही याेजना अनुसार दुर्गा सुवेदी, नरेन्द्र ढुङ्गेल र बसन्त भट्टराईले विमान अपहरण गरेका थिए ।  अपहरणमा एउटा इजाजत नभएको अबैध पेस्तोल, दुई ३२-रिभल्बर र एक ३६-ग्रिनेड बम प्रयोग गरिएको थियो ।

बिहान ८:३० मा नेपाल वायुसेवा निगमको विमान काठमाडौंको लागि उडेको थियो । उडेको तीन मिनेटमा नै अपहरणकरिले विमान आफ्नो नियन्त्रणमा लिएका थिए । उनीहरूले विमानलाई फारबिसगञ्ज, बिहारमा उतार्न लगाएका थिए ।

त्यहाँ पुगेर राष्ट्र बैङ्कको पैसा नियन्त्रणमा लिएर उक्त टोलीले दार्जिलिङ पुगेर विश्वेश्वरप्रसाद कोइरालालाई सो पैसा जिम्मा लगाइएको इतिहास छ ।

घटनापछि अपहरणकारी दार्जिलिङ बनारस हुदै मुम्बई पुगेका थिए। एक वर्ष भित्रमा नगेन्द्र ढुङ्गेल बाहेक सबै अपहरणकारी भारतमा पक्राउ परेका थिए । सन् १९७५ भारतीय सङ्कटकालपछि सबै छुटेका थिए।

‘विमान–९एनएबीबी’ चलचित्र बन्ने

साेही घटनाकाे विषयमा चलचित्र ‘विमान–९एनएबीबी’ बन्ने भएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, अरुण क्षेत्री, चक्र दवाडी, कुशल पाण्डे, शुन्दर धिताल, सुशील सिटौला, लोकेन्द्र लेखक, निकुन श्रेष्ठलगायतको अभिनय रहनेछ ।

चलचित्रको कथा खगेन्द्र लामिछाने र यज्ञस पण्डितले संयुक्त रूपमा लेखेका छन् ।

‘विमान–९–एनएबीबी’लाई लोकेश बज्राचार्यले निर्देशन गर्नेछन् । चलचित्रको निर्मातामा खगेन्द्र लामिछाने र शुलभ बुढाथोकी छन् ।  भोलि (सोमबार) काठमाडौंको शोभाभवगतीमा शुभमुहूर्त हुने चलचित्र असाेज १० देखि मंसिर १९ गतेसम्म छायांकन हुनेछ । छायांकन विराटनगर र काठमाडौंमा हुनेछ ।

 

प्रतिक्रिया