सहकारी ठगी समात्न इन्टरपोलको सहयोग लिएर अघि बढ्छौं : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगीका फरार आरोपीलाई इन्टपोलको सहयोग लिएर भए पनि पक्राउ गरिने बताएका छन् ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिसँग शनिबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले छानबिन निष्कर्षमा पुगेपछि इन्टरपोलको सहयोग लिएर अगाडि बढ्न सकिने बताएका हुन् ।

‘फरार व्यक्तिहरुका विषयमा प्रयास भइरहेको छ तर सफलता हासिल भएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘छानबिनका क्रममा रहेकाले निष्कर्षमा पुगेपछि थप इन्टरपोलको सहयोग पनि लिएर अगाडि बढ्न सकिन्छ ।’

विभिन्न सहकारीको रकम अवैधानिक रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेका जीबी राईविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरे पनि पक्राउ पर्न सकेका छैनन् । प्रधानमन्त्री ओलीले अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले सहकारी क्षेत्रमा विकृति आएको उल्लेख गर्दै सहकारीमा अनुगमनको अभाव देखिएको बताएका छन् ।

नियमसंगत रुपमा चलाए सहकारीहरु नडुब्ने र यसले कसैलाई पनि नडुबाउने प्रधानमन्त्री ओलीले बताए । उनले समितिले निर्देश गरेका सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । तर, निर्दोष नपर्ने र दोषी नछुट्ने गरी काम गर्न पनि उनले समितिलाई आग्रह गरे । ओलीले कानुन बनाउनेदेखि अनुगमनसम्मका काम सरकारले गर्ने बताए ।

प्रतिक्रिया